पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित
सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएकोमा सरकारी वकिल कार्यालयका तर्फबाट स्थगित गराइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । पूर्वमुख्यमन्त्री सोडारीले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले २०८२ जेठ १९ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अभियोगपत्र अनुसार सोडारीले सार्वजनिक सेवाको पदमा रहँदा २०७४ माघ ७ देखि २०७९ माघ १० सम्मको अवधिमा आफ्नो पदको दुरुपयोग गरी गैरकानुनी रूपमा ठुलो परिमाणको सम्पत्ति आर्जन गरेका छन् ।
आयोगको अनुसन्धानबाट सोडारीको पारिश्रमिक, बैंक ब्याज, कृषि आय, श्रीमती तथा छोराछोरीको पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता लगायतबाट जम्मा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा मात्र आम्दानी रहेको देखिएको छ । तर, सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन खर्च, छोराको विवाह खर्च, सेयर लगानी, चुनाव खर्चलगायत शीर्षकमा कुल १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च गरेको अख्तियारको दाबी छ ।
कुल आय र व्यय तुलना गर्दा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा स्रोत नखुलेको रकम रहेको आयोगको निष्कर्ष छ । आयोगले सोडारीकी श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा खरिद गरिएको जग्गा, घर निर्माण तथा बैंक मौज्दातसमेत जफत गर्न माग गरेको छ ।