नयाँ राष्ट्रवादी शक्ति निर्माणको घोषणा, सबै राजावादी,हिन्दुवादीलाई एकजुट हुन धवलशमशेरको आह्वान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएका नेता धवल शमशेर राणाले मुलुकमा बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको भन्दै नयाँ राजनीतिक शक्ति निर्माणको तयारी सुरु गरिएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राणाले वर्तमान अवस्थामा राप्रपाले राष्ट्रवादी शक्तिको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको दाबी गर्दै नयाँ दल गठनको गृहकार्य अघि बढाइएको जानकारी दिए।
उनले नेपालमा राजसंस्था र वैदिक सनातन हिन्दु अधिराज्य पुनःस्थापना नगरी देशले निकास नपाउने धारणा व्यक्त गर्दै सबै राजावादी, राष्ट्रवादी तथा हिन्दुवादी शक्तिलाई एकताबद्ध हुन आह्वान गरे।
राणाका अनुसार नयाँ पार्टीको नाम, झण्डा तथा चुनाव चिन्ह निकट भविष्यमै टुंगो लगाइनेछ। साथै सातै प्रदेश, ७७ जिल्ला र स्थानीय तहसम्म संगठन विस्तार गरी देशव्यापी संरचना निर्माण गरिने उनले बताए।
उनले आफूहरूबीचको एकता कुनै व्यक्तिगत स्वार्थ, लोभ वा पदका लागि नभई देशलाई राजनीतिक निकास दिने उद्देश्यका साथ भएको दाबी गर्दै नयाँ शक्ति राष्ट्र र जनताको पक्षमा दृढतापूर्वक उभिने विश्वास व्यक्त गरे।