मोरोक्कोसँग बराबरीमा रोकियो ब्राजिल, उद्घाटन खेलमै अंक बाँडफाँट
जारी विश्वकपको आफ्नो पहिलो खेलमा उपाधि दाबेदार ब्राजिल मोरोक्कोसँग १–१ को बराबरीमा रोकिएको छ। आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा मोरोक्कोले ब्राजिललाई कडा चुनौती दिँदै महत्वपूर्ण एक अंक हात पारेको हो।
खेलको २१औँ मिनेटमा इस्माइल साइबारीले गोल गर्दै मोरोक्कोलाई अग्रता दिलाएका थिए। त्यसको ११ मिनेटपछि भिनिसियस जुनियरले व्यक्तिगत कौशल प्रदर्शन गर्दै बराबरी गोल फर्काए। त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल निस्कन नसक्दा खेल १–१ मा सकियो।
खेलमा बल नियन्त्रण ब्राजिलको पक्षमा रहे पनि मोरोक्कोले आक्रामक प्रदर्शन गर्यो। मोरोक्कोले १३ सट प्रहार गर्दा ब्राजिलले ८ सट मात्र प्रहार गरेको थियो। यद्यपि सट अन टार्गेटमा भने ब्राजिल ५–४ ले अघि रह्यो।
ब्राजिलले ६ कर्नर पाएको थियो भने मोरोक्कोले २ कर्नर मात्र प्राप्त गर्यो। अनुशासनतर्फ भने ब्राजिलमाथि दबाब देखियो। उसले १६ फाउल गर्दै दुई पहेँलो कार्ड बेहोर्यो, जबकि मोरोक्कोले १४ फाउल गरे पनि कुनै कार्ड पाएन।
खेलपछि ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले टोलीको पहिलो हाफ कमजोर रहेको स्वीकार गरे। उनका अनुसार खेलाडीहरू अत्यधिक दबाबमा देखिएका थिए र बल नियन्त्रण तथा सन्तुलन कायम राख्न संघर्ष गरेका थिए।
ब्राजिलले केही महत्वपूर्ण अवसर गुमाएको पनि खेलको मुख्य पक्ष बन्यो। राफिन्हा र लुकास पाकेटाले गोल गर्ने राम्रो मौका सदुपयोग गर्न सकेनन्। दोस्रो हाफमा ब्राजिलले खेलमा सुधार गरे पनि मोरोक्कोको संगठित रक्षापंक्ति भेद्न सफल भएन।
बराबरीको नतिजासँगै दुवै टोलीले विश्वकप अभियानको सुरुवात एक–एक अंकबाट गरेका छन्। मोरोक्कोले फेरि एकपटक बलिया टोलीविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै आफ्नो ‘जाइन्ट किलर’ छवि कायम राखेको छ भने ब्राजिलले आगामी खेलहरूमा प्रदर्शन सुधार्नुपर्ने दबाब महसुस गरेको छ।