पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
पर्यटक भिसामा काठमाडौँमा आएर व्यापार गरेको आरोपमा अध्यागमन विभागले दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
दुई जना चिनियाँ पुरुषलाई बिहीबार काठमाडौँबाट नियन्त्रणमा लिइएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताए।
उनीहरुले सामाजिक सञ्जाल टिकटकमार्फत प्रचार गरेर हिमाली क्षेत्रको स्याउ, ओखर र लसुन लगायतका सामग्री सस्तोमा दिन्छौँ भनेर महँगोमा बेच्ने गरेको भेटिएको छ।
उनीहरूले दुई वर्षअघि लगानी भित्र्याएर ‘लिउ जुन होटल विथ रेस्टुरेन्ट’ स्थापना गर्ने प्रतिबद्धता जनाएर बिजनेस भिसा लिए पनि प्रतिबद्धता अनुसार लगानी ल्याएका थिएनन्।
अहिले उनीहरू पर्यटक भिसामा नेपालमा बसिरहेका थिए । उनीहरू २०२४ मा चीनस्थित तिब्बत हुइडा इन्टरनेशनल ट्रेड तथा सिजाङ साङ चेङ हेल्थ इन्डस्ट्रिजको बजार विश्लेषकको रूपमा नेपाल प्रवेश गरेको अभिलेख भेटिएको निर्देशक ढकालले बताए ।
उनीहरुले सो कम्पनीको प्रचार पनि टिकटक मार्फत गर्दै आएका थिए । उनीहरूमाथि अध्यागमन विभागले अनुसन्धान गरिरहेको छ।