थुनछेक बहस नसकिएपछि टिकटकर तुलसा अधिकारी पुनः प्रहरी हिरासतमा
जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि ‘टिकटकर तुलसा कलेक्सन’ भनिने तुल्सी अधिकारी पुनः प्रहरी हिरासत फर्काइएकी छन् । शुक्रबार थाइल्याण्डमा पक्राउ परेपछि उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा पेश गरिएको थियो ।
उनीविरुद्ध सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’का सञ्चालक चिमोरियाले २०८२ साउन २४ गते तुलसाविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए ।
जाहेरी दर्तापछि तुलसा फरार भएकी थिइन् । चीन हुँदै थाइल्याण्ड पुगेको सूचना पाएपछि प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत खोजी प्रक्रिया अघि बढाएको थियो ।
ललितपुर जिल्ला अदालतमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, ठगी र आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दा चलिरहेको छ । सोमबार जिल्ला अदालतमा थुनछेक बहसका निम्ति पेश भएकी थिइन् ।
तर, बहस नसकिएपछि मंगलबार पुनः उपस्थित गराउने गरी जिल्ला प्रहरीको हिरासतमा राखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले बताए ।