काठमाडौं महानगरको छात्रवृत्ति परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनका लागि लिइएको परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक गरिएको हो।
महानगरका अनुसार न्यूनतम ४० अंक प्राप्त गरेका विद्यार्थीलाई प्रारम्भिक योग्यताक्रममा समावेश गरिएको छ। परीक्षामा सहभागी विद्यार्थीमध्ये एक जनाले सर्वाधिक ९२ अंक प्राप्त गरेका छन्। नतिजाप्रति चित्त नबुझेका विद्यार्थीले जेठ २० गतेभित्र पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।