दासढुंगामा म्याजिक र स्कार्पियो ठोक्किँदा ८ जना घाइते, चालक नियन्त्रणमा
चितवन — नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ दासढुंगामा मंगलबार म्याजिक र स्कार्पियो आपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्।
मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ३-०१-०२२ च १७५८ नम्बरको स्कार्पियो एक–आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा दुवै सवारी साधनमा सवार यात्रुहरू घाइते भएका छन्। म्याजिकमा सवार घाइतेहरूमा नवलपरासीको गैंडाकोट नगरपालिका–४ की ४९ वर्षीया गौरी लामिछाने, २८ वर्षीया मनिषा आले र उनका २० महिनाका छोरा पिन्स आले रहेका छन्।
त्यसैगरी चितवनको भरतपुर–१ की २७ वर्षीया सीता दानी, इच्छाकामना गाउँपालिका–६ की २४ वर्षीया रचना गुरुङ र सोही ठाउँका ५३ वर्षीय कान्छा दागी पनि घाइते भएका छन्।
स्कार्पियोमा सवार सर्लाहीको हरिवन नगरपालिका–८ की ४५ वर्षीया कविता अग्रवाल र उनका ५३ वर्षीय श्रीमान शशी भसाल अग्रवाल घाइते भएका छन्।
घाइते सबैको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार म्याजिक चालक उदयपुर चौदण्डीगढी नगरपालिका–४ का ३९ वर्षीय अशोक परियार र स्कार्पियो चालक सर्लाही हरिवन नगरपालिका–२ का ३४ वर्षीय अशोककुमार महतलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।