टिकटक ‘तुलसा कलेक्सन’ नामले परिचित तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा
ललितपुर — सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटक प्रयोगकर्ता तुल्सा अधिकारीलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले दर्ता गरेको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा बिहीबार भएको सुनुवाइपछि न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीसहित १० जना प्रतिवादीलाई थुनामा पठाउने आदेश दिएको हो।
उनीहरुविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरिएको छ। ललितपुरका व्यवसायी कुमार चिमोरियाको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।
जाहेरीमा तुल्सा अधिकारीले विभिन्न व्यवसायिक तथा लगानीका नाममा रकम लिएर करिब ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको दाबी गरिएको छ। सोही उजुरीपछि प्रहरी परिसर ललितपुरले अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा बैंक कारोबार विवरण, सम्पत्ति अभिलेख, कागजात, डिजिटल प्रमाण तथा सम्बन्धित व्यक्तिहरूको बयान संकलन गरिएको थियो। त्यसपछि अधिकारीविरुद्ध ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अदालतमा दायर गरिएको हो।
अदालतमा बयानका क्रममा अधिकारीले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै रकम नलिएको दाबी गरेकी थिइन्। उनले ‘विष्णु’ नामका व्यक्तिसँगको व्यापारिक साझेदारीसँग सम्बन्धित विवादलाई आफ्नो नाममा गलत रूपमा जोडिएको बताएकी थिइन्।
यता अभियोजन पक्षले विभिन्न आर्थिक प्रमाण र कारोबार विवरणका आधारमा अधिकारीको संलग्नता देखिएको दाबी गरेको छ।
प्रहरी अनुसन्धान अनुसार अधिकारी र उनीसँग सम्बन्धित व्यक्तिहरूको नाममा करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको उल्लेख गरिएको छ। नगद, बैंक मौज्दात, घरजग्गा र सवारीसाधनसहितका सम्पत्तिको वैध स्रोत स्पष्ट नभएपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अघि बढाइएको हो।
नेपालको कानुनअनुसार स्रोत पुष्टि हुन नसकेको सम्पत्तिलाई अनुसन्धानको दायरामा ल्याउन सकिने र अदालतले अवैध ठहर गरेमा त्यस्ता सम्पत्ति जफत हुन सक्ने व्यवस्था रहेको छ।