बेल्जियम र इजिप्ट अन्तिम ३२ मा
बेल्जियम र इजिप्टले शनिबार विश्वकप २०२६ को समूह ‘जी’ बाट अन्तिम ३२ को यात्रा तय गरेको छ । बेल्जियमले भ्यान्कुभरमा भएको खेलमा न्युजिल्यान्डलाई ५–१ ले हरायो र पाँच अंकमा शीर्ष स्थानमा रह्यो । इजिप्ट पनि पाँच अंकमै दोस्रो स्थानमा रह्यो ।
इजिप्टले सियाटलमा भएको खेलमा इरानसँग १–१ को बराबरी खेल्यो । इरान तीन अंकमा तेस्रो स्थानमा रह्यो र उसको अर्को चरण पुग्ने सम्भावना कायम रह्यो । न्युजिल्यान्ड भने एक अंकमा सीमित रहेर प्रतियोगिताबाट बािहरिएको छ ।
बेल्जियमको शानदार जितमा लियान्ड्रो ट्रोसार्डले २८ र ५० औं मिनेटमा दुई गोल गरे । त्यस्तै केभिन डे ब्रुएनाले ६६, रोमेलु लुकाकुले ८६ र एलेक्स लेसमेकर्सले दोस्रो हाफको इन्ज्युरी पाँचौं मिनेटमा एक एक गोल थपे । न्युजिल्यान्डका लागि इलिज जस्टले ८४ औं मिनेटमा एक गोल फर्काए ।
इजिप्टले भने पाँचौं मिनेटमा मोहमुद साबेरले गोलको खाता खोले । त्यो अग्रता लामो समय टिकेन् र रमिन रेजेनले इरानका लागि १४ औं मिनेटमा बराबरी गोल गरे । त्यस अगाडि मेहदी तारेमी पेनाल्टीमा गोल गर्न चुकेका थिए । खेलको अन्त्यतिर सोजाए खालिजादेहको गोलले अफ साइडका कारण मान्यता पाएन् ।