उदयपुरमा ट्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
उदयपुर — बुधबार बिहान करिब ५:३० बजे लिम्चुङबुङ गाउँपालिका–१ र ३ को सिमानामा पर्ने सेतिढुङ्गा खहरे खोलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
कात्तिकेबाट ढुङ्गा लोड गरी वडा नं. १ को कार्यालयतर्फ जाँदै गरेको म.प्र.०१-००१ त २८४० नम्बरको ट्याक्टर उकालो र भिरालो कच्ची सडकमा फसेको थियो। सोही क्रममा निकाल्ने प्रयास गर्दा ब्रेक फेल भई ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक ३२ वर्षीय हिमाल राई को घटनास्थलमै मृत्यु भएको हो। सहचालक प्रदीप राई भने सकुशल रहेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।