नेपालगञ्जमा चराचुरुङ्गी संरक्षण अभियान सुरु, गर्मीमा पानीको व्यवस्था
नेपालगञ्ज — बढ्दो गर्मीका कारण पानीको अभावले चराचुरुङ्गी संकटमा पर्न थालेपछि नेपालगञ्जमा स्थानीय युवाहरूले संरक्षण अभियान सुरु गरेका छन्।
नेपालगञ्ज ग्यालरीका महेश श्रेष्ठको नेतृत्वमा सुरु गरिएको अभियानअन्तर्गत फालिएका प्लास्टिकका बोतल पुनः प्रयोग गरी चराचुरुङ्गीका लागि पानी राख्ने भाँडो तयार गरेर विभिन्न स्थानमा पानीको व्यवस्था गर्न थालिएको छ।
अभियानमा जनावर अधिकारकर्मी सुवास साहु र वातावरण अभियन्ता हेमन्तराज काफ्ले पनि सहभागी छन्। अभियन्ता काफ्लेले गर्मीको समयमा चराचुरुङ्गी, जनावर र कीरा–फट्याङ्ग्राप्रति संवेदनशील हुनुपर्ने उल्लेख गर्दै ती जीव पारिस्थितिक प्रणालीका महत्वपूर्ण अङ्ग भएको बताए।
उनले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण जलस्रोत घट्दै गएको र यसले चराचुरुङ्गीको जीवनमा प्रत्यक्ष असर परेको बताए। “गर्मी झन् बढ्दै गएको छ, त्यसैले यो कार्यक्रमलाई निरन्तर अघि बढाउनुपर्छ,” उनले भने।
महेश श्रेष्ठका अनुसार सुर्खेत रोडदेखि राँझा चोकसम्मका बोटबिरुवामा पानीका भाँडाहरू राख्ने योजना छ। साथै, आगामी दिनमा प्रत्येक शनिबार यस्तो व्यवस्थापन अभियानलाई निरन्तरता दिने तयारी गरिएको छ।
स्थानीयस्तरमा सुरु भएको यो अभियानलाई प्रशंसा गर्दै घर, पसल तथा सार्वजनिक स्थानमा पनि पानीको व्यवस्था गर्न सके चराचुरुङ्गी र अन्य जीवजन्तुको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।