मापदण्ड विपरीत सरुवा भएको भन्दै एसएसपी शान्तिराज कोइरालाको सरुवा रोकियो
१८ जेठमा मात्र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा सरुवा भएका एसएसपी कोइरालाको सरुवा हाललाई रोकिएको हो।
नेपाल प्रहरी का केन्द्रीय सहप्रवक्ता दीपशमशेर जबराका अनुसार कोइरालाको स्थानमा ट्राफिक प्रहरी प्रमुखका रूपमा एसएसपी सुरेश काफ्ले सरुवा गरिएको छ।
यसअघि कोइराला नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज, पर्साको कमान्डमा थिए। सोही कमान्डबाट उनलाई ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरिएको थियो।
तर सरुवा मापदण्डअनुसार एक ठाउँको इन्चार्जको जिम्मेवारी सम्हालिरहेको व्यक्तिलाई सोझै अर्को ठाउँको इन्चार्जका रूपमा सरुवा गर्न नमिल्ने व्यवस्था छ।
नेपाल प्रहरीले सरुवालाई व्यवस्थित बनाउन क, ख र ग श्रेणीमा वर्गीकरण गरेको छ। मुद्दाको चाप, कामको प्रकृति र जिम्मेवारीका आधारमा यस्तो वर्गीकरण गरिएको हो।
वीरगञ्ज कार्यालय ‘ख’ श्रेणीमा पर्ने र कोइराला त्यहाँ इन्चार्ज रहेको अवस्थामा गरिएको सरुवालाई मापदण्ड विपरीत मानिएको हो।
मापदण्ड उल्लङ्घन गरी गरिएको सरुवा सार्वजनिक भएपछि यसबारे पुनः मिलान (करेक्सन) गर्दै उनलाई हटाएर एसएसपी काफ्लेलाई ट्राफिक प्रहरी प्रमुख बनाइएको हो।