बाँदर आतंकले घट्यो मकै खेती, १० महिनामै ११ अर्बभन्दा बढीको आयात
काठमाडौं — नेपालको मध्य पहाडी क्षेत्रमा बाँदर समस्याका कारण मकै खेतीमा ठूलो असर परेको छ। बाँदरले बाली नष्ट गर्न थालेपछि कतिपय किसानले खेतीपाती छाड्दै बसाइँसराइसमेत गर्न थालेका छन्।
कृषि क्षेत्रमा आत्मनिर्भरता र उत्पादन वृद्धि गर्ने सरकारी प्रतिबद्धता दोहोरिए पनि व्यवहारिक संरक्षण र विकासका कदम प्रभावकारी बन्न नसकेको भन्दै आलोचना भइरहेको छ।
भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालले ११ अर्ब रुपैयाँभन्दा बढीको मकै तथा मकैजन्य वस्तु आयात गरेको छ। यस अवधिमा ८ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको साधारण मकै, १ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको मकैको बिउ तथा अन्य विभिन्न मकैजन्य वस्तु विदेशबाट भित्रिएको छ।
सांसदहरूले पटक–पटक संसदमा बाँदर समस्याको दीर्घकालीन समाधान खोज्न माग गरे पनि सरकारले पहाडी क्षेत्रको खेती संरक्षण र उत्पादन वृद्धिका लागि प्रभावकारी नीति तथा कार्यक्रम अघि बढाउन नसकेको गुनासो बढ्दै गएको छ।