प्रतिनिधिसभामा हर्कराज राईको आग्रह: व्यवसायीलाई स्थानीय तहमै कर तिर्ने व्यवस्था गर्न माग
काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले व्यवसायीलाई स्थानीय तहमै कर तिर्न सक्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) विषयक छलफलमा भाग लिँदै उनले साना कर तिर्नका लागि समेत टाढा–टाढा जानुपर्ने बाध्यताबारे जनगुनासो बढिरहेको उल्लेख गरे। उनले यस समस्याको समाधानका लागि कर प्रशासनलाई स्थानीय तहमै सहज बनाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
सांसद राईले संसद् बैठकप्रति सरकार जिम्मेवार नभएको आरोप लगाउँदै आफूहरूले त्यसको विरोधस्वरूप ‘प्ले कार्ड’ प्रदर्शन गरेको पनि बताए।
त्यसैगरी उनले सप्तकोशी–धरान क्षेत्रका तटबन्ध, खानेपानी र ल्याण्डफिल साइट निर्माणजस्ता विषय आगामी बजेटमा प्राथमिकताका साथ समावेश गर्नुपर्नेमा जोड दिएका छन्।