प्रतिनिधिसभामा समसामयिक मुद्दामा सांसदहरूको सरकारको ध्यानाकर्षण
काठमाडौं, मे ३१ — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले अविरल वर्षाका कारण जनताले भोगिरहेको समस्या, महँगी, बेरोजगारी तथा विकास निर्माणका ढिलाइलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
शून्य समयमा सांसद वासना थापाले आगामी बजेटले कर्णाली प्रदेशका शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या समाधान गर्न पर्याप्त प्राथमिकता नदिएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
सांसद विश्वराज पोखरेलले कृषि क्षेत्रमा दुई करोड रुपैयाँसम्मको लगानीमा ४० प्रतिशत अनुदान दिने बजेटको व्यवस्था सकारात्मक भए पनि ग्रामीण किसानका लागि उक्त लगानी अत्यधिक ठूलो हुन सक्ने बताए।
सांसद बुद्धरत्न महर्जनले ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछाप क्षेत्रमा सडक र पुल जीर्ण हुँदा स्थानीयवासीले लामो समयदेखि सास्ती भोगिरहेको उल्लेख गर्दै तत्काल निर्माणको माग गरे।
त्यस्तै सांसद भारतकुमार स्वाँरले सेती लोकमार्गको २५९ किलोमिटर खण्ड तथा टीकापुर–ताक्लाकोट (मानसरोवर) मार्गलाई राष्ट्रिय गौरवको योजनामा समावेश गर्नुपर्ने माग गरे।
सांसद भरतबहादुर खड्काले २०७९ सालको भूकम्पपछि डोटीको पूर्वीचौकी गाउँपालिकामा पुनःनिर्माण र पुनर्स्थापना प्रभावकारी रूपमा हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
सांसद भूमिका श्रेष्ठले धनकुटाको सहिदभूमि गाउँपालिकामा हुरीका कारण पुल भाँचिँदा विद्युत् सेवा पटक–पटक अवरुद्ध भइरहेको समस्या समाधान गर्न माग गरिन्।
सांसद मनमाया विकले दलित समुदायमा शिक्षा पहुँचको अभाव गम्भीर रहेको बताउँदै विशेषगरी मधेसी दलित बालबालिकाका लागि आवासीय विद्यालयको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइन्।
त्यस्तै अन्य दर्जनौं सांसदहरूले पनि विकास निर्माण, सामाजिक न्याय, पूर्वाधार, शिक्षा र रोजगारीका विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।