बालबालिकामा सुर्तीजन्य पदार्थ सेवन बढ्दो, १२ वर्षमुनिका पनि प्रभावित भएको अध्ययन निष्कर्ष
काठमाडौं, मे ३१ — नेपालमा बालबालिकामाझ सुर्तीजन्य पदार्थ सेवनको समस्या गम्भीर बन्दै गएको एक अध्ययनले देखाएको छ।
‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’का अवसरमा स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा प्रस्तुत अनुसन्धान अनुसार १२ वर्षमुनिका बालबालिकाले समेत चुरोट सेवन गर्ने गरेको पाइएको हो।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता कुसुम शाहीका अनुसार सातै प्रदेशका ५० विद्यालयका कक्षा ७ देखि १० सम्मका करिब ३ हजार विद्यार्थीमा गरिएको अध्ययनमा १० वर्षमुनिका बालबालिकामा समेत चुरोट सेवनको लत देखिएको छ।
अध्ययनमा सहभागीमध्ये ठूलो संख्यामा सेवनकर्ताले बिहान उठ्नेबित्तिकै चुरोट खाने गरेको तथा करिब ७४ प्रतिशतले छोड्ने प्रयास गरे पनि सफल हुन नसकेको तथ्य पनि सार्वजनिक गरिएको छ।
कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठले उद्योगहरूले किशोरकिशोरीलाई आकर्षित गर्न भेप र हुक्का जस्ता स्वादयुक्त सुर्तीजन्य उत्पादन प्रयोग गरिरहेको बताए। उनले यस्ता गतिविधि रोक्न कडा कानुन कार्यान्वयन आवश्यक रहेको जोड दिए।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले सुर्तीजन्य पदार्थलाई “सामाजिक विष” भन्दै यसको नियन्त्रण सबैको सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताए।
अध्ययन तथा विज्ञहरूले सुर्तीजन्य पदार्थका कारण नेपालमा वार्षिक ३९ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको र यसले क्यान्सर, मुटु, फोक्सो तथा अन्य दीर्घरोगको जोखिम बढाउने चेतावनी दिएका छन्।
सरकारी अधिकारीहरूले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि जनचेतना अभियान, कानुन कार्यान्वयन र सामुदायिक सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन्।