एसियन गेम्स छनोटबाट नेपाली महिला टोली बाहिरियो, चीनसँग पराजित
काठमाडौं, मे ३१ — एसियाली गेम्स छनोट प्रतियोगिताबाट नेपाली महिला क्रिकेट टोली बाहिरिएको छ। निर्णायक खेलमा चीनसँग पराजित भएपछि नेपालले छनोट यात्रा समाप्त गरेको हो।
वर्षाका कारण अवरुद्ध खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सात ओभरमा पाँच विकेटको क्षतिमा ५० रन बनाएको थियो। डकवर्थ–लुइस–स्टर्न (DLS) पद्धतिअनुसार चीनलाई सात ओभरमा ४३ रनको लक्ष्य दिइएको थियो।
चीनले उक्त लक्ष्य सात ओभरमै पाँच विकेट गुमाउँदै ४५ रन बनाएर हासिल गर्यो र खेल पाँच विकेटले जित्यो।
यसअघि सेमिफाइनलमा मलेसियासँग दुई विकेटले पराजित भएपछि नेपालले एसियन गेम्समा छनोट हुने अवसर गुमाएको थियो। तेस्रो स्थानका लागि भएको खेलमा पनि पराजय भएसँगै नेपाली टोली प्रतियोगिताबाट बाहिरिएको हो।
नेपाललाई हराएसँगै चीन, मलेसिया र थाइल्यान्ड एसियन गेम्सका लागि छनोट भएका छन्।
यसैबीच पुरुषतर्फ नेपालले भने विजयी सुरुवात गरेको छ। चीनलाई २२१ रनले पराजित गर्दै नेपाली पुरुष टोलीले छनोट अभियान सकारात्मक रूपमा सुरु गरेको छ।