२३९ जनाको ज्यान लिने सवारी दुर्घटना, मुख्य कारण तीव्र गति
काठमाडौं — वैशाख महिनामा देशभर भएका सवारी दुर्घटनामध्ये आधाभन्दा बढी तीव्र गतिका कारण भएको पाइएको छ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार वैशाखमा देशभर २ हजार २९४ सवारी दुर्घटना भएका छन्। तीमध्ये १ हजार २५३ दुर्घटना तीव्र गतिका कारण भएका हुन्। चालकको असक्षमता, हतारमा बाटो काट्नु, मादक पदार्थ सेवन तथा अनावश्यक ओभरटेक पनि दुर्घटनाका प्रमुख कारण बनेका छन्।
दुर्घटनामा २३९ जनाको मृत्यु भएको छ भने ७५२ जना गम्भीर र ३ हजार २२० जना सामान्य घाइते भएका छन्। सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।
प्रहरीका अनुसार साँझ ६ बजेदेखि राति १२ बजेसम्म सबैभन्दा धेरै दुर्घटना हुने गरेका छन्। सो अवधिमा मात्रै ८५९ दुर्घटना भएका थिए।
यस्तै, ट्राफिक नियम उल्लङ्घन गर्नेविरुद्ध वैशाखमा १ लाख ३७ हजारभन्दा बढी कारबाही गरिएको छ भने ११ करोड ८२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको प्रहरीले जनाएको छ।
पछिल्लो २४ घन्टामा देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ३ जनाको मृत्यु हुनुका साथै ९४ जना घाइते भएका छन्।