सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिसविरुद्ध ६ रिट, दर्ता प्रक्रिया अध्ययनमै
सर्वोच्च अदालत मा न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद को निर्णयविरुद्ध ६ वटा रिट निवेदन पेश भएका छन्।
शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता विपिन ढकाल लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
यद्यपि, ती रिटहरू हालसम्म औपचारिक रूपमा दर्ता नभएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। सर्वोच्च अदालतका प्रवक्ता एवं सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइराला ले रिटहरू अध्ययनकै क्रममा रहेको जानकारी दिए।
बिहीबार बसेको संवैधानिक परिषद बैठकले वरियताक्रममा चौथो नम्बरमा रहेका न्यायाधीश डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो।
रिट निवेदकहरूले उक्त सिफारिस संविधानको शक्तिपृथकीकरणको सिद्धान्तविपरीत रहेको तथा यसले स्वतन्त्र न्यायपालिकामाथि असर पर्ने दाबी गरेका छन्। उनीहरूले परिषदको निर्णय खारेज गर्न र वरियतामा पहिलो नम्बरमा रहेकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल लाई सिफारिस गर्न माग गरेका छन्।
संवैधानिक परिषदको निर्णयमा नारायणप्रसाद दाहाल तथा भिष्मराज आङ्देम्बे ले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए।
यस निर्णयप्रति विपक्षी दल नेपाली कांग्रेस र नेकपा एमाले ले समेत विरोध जनाएका छन्। सामाजिक सञ्जालमा पनि यस विषयमा व्यापक बहस र टिप्पणी भइरहेका छन्।
उता, संवैधानिक परिषदले शर्मालाई सिफारिस गरेपछि शुक्रबार बिहान सर्वोच्च अदालतका न्यायाधीशहरूबीच आन्तरिक छलफल समेत भएको थियो। छलफलका कारण पेसी सूची सार्वजनिक गर्न ढिलाइ भएको बताइएको छ।