कांग्रेस नेता अभिषेक गिरी पक्राउ
विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । उनको घरमा शनिबार बिहान प्रहरीले छापा मारेको थियो । लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोरङ प्रहरीका अनुसार गिरिलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको हो । बिहानैदेखि प्रहरीले गिरीको घरलाई घेरा हालेर खानतलासी गरेको थियो ।
प्रहरीले गिरीको घरबाट के बरामद भयो भन्ने खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले शंकास्पद वस्तु राखेको आशङ्कामा प्रहरीले छापा मारेको बताउँदै थप अध्ययन भइरहेको जानकारी दिए ।
गिरी यसअघि पनि पटक(पटक विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै विवादमा आउने गरेका व्यक्ति हुन् । अपहरण मुद्दामा कारागारभित्र रहँदासमेत उनी पटक–पटक विवाद गरेका थिए । कैद भुक्तानपछि कारागारबाट छुटेका गिरी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
उनीमाथि कैदीबन्दीको रकम असुली र भत्ता अपचलन गरेको आरोप लागेको छ । अभिषेक गिरीले भने आफूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोजिएको प्रतिक्रिया दिएका छन् ।