कमला खड्का वली हत्या प्रकरण: श्रीमान् गोपाल वलीसहित चार जना पुर्पक्षका लागि थुनामा
दाङको तुलसीपुर उपमहानगरपालिका–१९ की २६ वर्षिया कमला खड्का वली हत्या प्रकरणमा उच्च अदालत तुलसीपुरले नेपाल सरकारका लेखा अधिकृत रहेका उनका श्रीमान गोपाल वलीसहित चारजनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले बिहीबार जिल्ला अदालत दाङको आदेशलाई बदर गर्दै गोपाल वलीका बुवा कर्णबहादुर वली, भाउजू टीका केसी र बहिनी पुतला वलीलाई समेत थुनामा राख्न आदेश दिएको हो ।
यसअघि जिल्ला अदालत दाङले श्रीमान गोपाल वलीलाई मात्रै थुनामा पठाउन आदेश गरेको थियो, भने बुबा कर्णबहादुर ओली, बुहारी टीका केसी र बहिनी पुतला वलीलाई धरौटीमा छोड्न आदेश गरेको थियो । त्यसपछि पीडितले उच्च अदालत तुलसीपुरमा पुनरावेदन गरेका थिए । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले बिहीबार अन्य तीन जनालाई पनि पुर्पक्षकालागि थुनामा राख्न आदेश गरेको हो ।
उच्च अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ अनुसार उपलब्ध प्रमाण र घटनाको प्रकृतिलाई आधार मानेर सबै प्रतिवादीलाई थुनामै राखी मुद्दाको अन्तिम टुङ्गो लगाउनुपर्ने निष्कर्ष निकालेको छ। अदालतले जिल्ला अदालतको आदेशलाई ‘बेरितको’ ठहर गरेको छ।
गत चैत १२ गते बेलुका घरको भान्साकोठामा कमलामाथि कुटपिट भइरहेको बेला घरमै रहेका परिवारका अन्य सदस्यले उनलाई बचाउने प्रयास नगरेको आरोप सुरुदेखि नै लाग्दै आएको थियो । स्थानीयका अनुसार कमला र उनका नाबालक छोराछोरीले हारगुहार गरे पनि कसैले हस्तक्षेप नगरेका थिए ।
छिमेकीहरू उद्धारका लागि घरभित्र प्रवेश गर्न खोज्दा गोपालका बुबा कर्णबहादुर वली छतमा लाठी लिएर उभिएको र कसैलाई घरभित्र जान नदिएको आरोप पनि स्थानीयले लगाएका थिए । प्रहरी अनुसन्धानका क्रममा समेत यस्ता विवरणहरू पुष्टि भएको जनाइएको छ ।
गम्भीर घाइते बनेकी कमलालाई उनका नाबालक छोराले घिसार्दै घरबाहिर ल्याएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कमला र गोपालका एक छोरा र एक छोरी छन् । अदालतले आफ्नो आदेशमा शव परीक्षण प्रतिवेदन, घटनास्थल मुचुल्का, प्रत्यक्षदर्शी तथा बालबालिकाको बयानलाई महत्वपूर्ण प्रमाणका रूपमा लिएको छ ।
शव परीक्षण प्रतिवेदनमा टाउकोमा लागेको गहिरो चोटका कारण कमलाको मृत्यु भएको उल्लेख छ। घटनास्थलबाट चारवटा चारपाटे दाउराका टुक्रा बरामद भएको र मृतकको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक देखिएको तथ्यलाई समेत अदालतले आधार बनाएको छ।
पीडित पक्षका तर्फबाट अधिवक्ता मोहनप्रसाद धिताल, प्रदीपकुमार गौतम र विजय पोखरेलले बहस गरेका थिए भने प्रतिवादी पक्षबाट सहन्यायाधिवक्ता महेशप्रसाद खत्री र अधिवक्ता कुमारराज श्रेष्ठले कानुनी प्रतिरक्षा गरेका थिए। उच्च अदालतको पछिल्लो आदेशसँगै अब चारै जना प्रतिवादीले थुनामै बसेर मुद्दाको अन्तिम फैसला कुर्नुपर्ने भएको छ। कमलाको हत्या गत चैत १२ गते तुलसीपुर–१९ स्थित आफ्नै घरमा भएको थियो ।