पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, यातायात ठप्प
काठमाडौँ — बेमौसमी वर्षाका कारण लमजुङमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज बिहान करिब ७ बजे मध्यनेपाल नगरपालिका–१०, विमिरेभञ्ज्याङ क्षेत्रमा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिएका छन्।
पहिरोका कारण उक्त खण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ। सडक खुलाउन सम्बन्धित निकायले प्रयास गरिरहेको भए पनि लगातारको वर्षाले काममा चुनौती थपिएको जनाइएको छ।
यसैबीच, प्रहरीले अवरुद्ध सडक तथा राजमार्ग प्रयोग गर्दा उच्च सावधानी अपनाउन यात्रुहरूलाई आग्रह गरेको छ।