फिल्म छायांकनका क्रममा अभिनेता विजय बराल घाइते
चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन् ।
पर्वतको कुस्मामा छायांकनका क्रममा घोडाबाट खसेर उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो ।
गत जेठ १ गतेदेखि कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट चलचित्रको छायांकन सुरु भएको थियो ।
करिब १५ दिनको कार्यतालिका सकेर बुधबार एक दृश्यका लागि घोडा चढ्ने क्रममा सन्तुलन बिग्रँदा बराल दुर्घटनामा परेका हुन् । निर्माण टिमका अनुसार उनको दाहिने हातको नाडीको जोर्नीमा फ्याक्चर देखिएपछि पोखरामा प्राथमिक उपचार र प्लास्टर गरिएको छ ।
यस्तै अभिनेता विजय बरालले काम गर्ने क्रममा अचानक भएको दुर्घटनाले टिमको सेड्युल प्रभावित भएकोमा दुःख व्यक्त गरेका छन् । उनले भने, ‘अहिले डाक्टरको निगरानीमा छु र केही हप्ताको आरामपछि पुनः काममा फर्किनेछु ।’
बरालले आफ्नो स्वास्थ्यका कारण अन्य केही चलचित्रको छायांकन तालिकामा पनि फेरबदल हुन सक्ने संकेत गरेका छन् । सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपानेको मुख्य भूमिका रहनेछ ।