तनहुँमा पर्यटक बसको ठक्करबाट वृद्धको मृत्यु
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ वर्षीय सम्मरबहादुर रानाभाट रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा१प ९२७ नम्बरको पर्यटक बसले बाटो काट्ने क्रममा पैदलयात्री रानाभाटलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका रानाभाटलाई उपचारका लागि दमौलीस्थित प्रदेश अस्पताल लगिएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।