नेपाल–चीन सीमा समन्वय बैठक रसुवामा सम्पन्न
रसुवा — नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठक रसुवाको धुञ्चेस्थित जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको छ।
बैठकमा नेपाली पक्षको नेतृत्व प्रमुख जिल्ला अधिकारी राजेश पन्थी र चिनियाँ पक्षको नेतृत्व अधिकारी चु जिनसाउनले गरेका थिए।
दुवै पक्षबीच सीमा सुरक्षा, व्यापार सहजीकरण, सीमा अपराध नियन्त्रण र नागरिक सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ। साथै केरुङ क्षेत्रमा बसोबास गर्ने नेपालीको सुरक्षा, स्वास्थ्य सेवा र आवतजावत सहजीकरणमा विशेष ध्यान दिन नेपाली पक्षले आग्रह गरेको छ।
यसैबीच, रसुवा बाहिरका नेपाली सवारी चालकलाई पनि प्रक्रिया पूरा गरी केरुङ प्रवेश गर्न दिने विषयमा सकारात्मक छलफल भएको बताइएको छ। बैठकलाई सीमा क्षेत्रमा सहकार्य र व्यापारिक गतिविधि सहज बनाउन महत्वपूर्ण मानिएको छ।