जनस्वास्थ्य कार्यालय, चितवन : चितवनमा डेंगु र स्क्रब टाइफस संक्रमण बढ्दो
चितवन । डेंगु र स्क्रब टाइफस संक्रमण चितवनमा बढ्दो क्रममा देखिएको छ । जनस्वास्थ्य कार्यालय, चितवन ले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८३ वैशाख ३१ गतेसम्म जिल्लामा डेंगुका २ सय ६० तथा स्क्रब टाइफसका ७ सय ८३ संक्रमित फेला परेका छन् ।
कार्यालयका अनुसार डेंगु संक्रमण सबैभन्दा बढी रत्ननगर नगरपालिकामा देखिएको छ । रत्ननगरमा ८३ जना संक्रमित भेटिएका छन् । त्यसपछि भरतपुर महानगरपालिकामा ५५, खैरहनी नगरपालिकामा ३५, राप्ती नगरपालिकामा १७ तथा कालिका नगरपालिकामा १० जना संक्रमित रहेका छन् ।
यस्तै, स्क्रब टाइफस संक्रमण पनि सबैभन्दा बढी रत्ननगरमै देखिएको छ । त्यहाँ २ सय १८ जना संक्रमित पुष्टि भएका छन् । खैरहनीमा ९९, भरतपुरमा ७८, राप्तीमा ७२ तथा कालिकामा ६४ जना संक्रमित भेटिएका छन् ।
गत २४ घण्टामा जिल्लाभित्र डेंगुको नयाँ संक्रमित नदेखिए पनि स्क्रब टाइफसका २ नयाँ संक्रमित थपिएको कार्यालयले जनाएको छ । हालसम्म डेंगु परीक्षण १० हजार २ सय ६ तथा स्क्रब टाइफस परीक्षण १० हजार ९ सय १० जनामा गरिएको छ ।
संक्रमणबाट हालसम्म कुनै पनि मृत्यु नभएको जनाइएको छ । स्वास्थ्यकर्मीहरूले लामखुट्टेको टोकाइबाट बच्न, घर वरपर पानी जम्न नदिन तथा ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेका छन् ।