एमाले सचिवालयमा ओलीमाथि राजीनामाको दबाब, अध्यक्षको जवाफ— “म छोड्दिनँ”
नेकपा (एमाले) को सचिवालय बैठकमा पार्टी नेतृत्वलाई लिएर गम्भीर मतभेद देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीले आफ्नाविरुद्ध उठिरहेका गतिविधिहरूका बाबजुद पनि पद नछाड्ने स्पष्ट संकेत दिएका छन्।
भक्तपुरको गुण्डुस्थित ओली निवासमा शनिबार बसेको बैठकमा महासचिव शंकर पोखरेलसहित केही शीर्ष नेताहरूले पार्टी पुनर्गठनको आवश्यकता औंल्याउँदै नेतृत्व परिवर्तनबारे धारणा राखेका थिए। उनीहरूले ओलीको नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने भन्दै मार्गप्रशस्त गर्न आग्रह गरेको स्रोतहरूले जनाएका छन्।
तर अध्यक्ष ओलीले त्यसको कडा प्रतिवाद गर्दै आफू पद छोड्ने पक्षमा नरहेको स्पष्ट पारे। “मलाई कसैले सम्झाउनै पर्दैन। किन सम्झाउनु, कसले सम्झाएको? यो पद मैले चुनाव जितेर पाएको हो,” ओलीले बैठकमा भनेको बताइएको छ। उनले थपे, “म छोड्दिनँ।”
बैठकमा सहभागी पदाधिकारीहरूका अनुसार ओलीको पक्षमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेतसहित केही नेताहरू मात्रै खुलेर उभिएका थिए। उपमहासचिव लेखराज भट्टले भने बीचको धारणा राखेका थिए।
अधिकांश उपाध्यक्ष, उपमहासचिव र सचिवहरू भने ओलीको विपक्षमा उभिँदै नेतृत्व परिवर्तन वा राजीनामाको पक्षमा बोलेको बताइएको छ। केहीले ‘राजीनामा’ शब्द नै प्रयोग गरेका छन् भने केहीले ‘मार्गप्रशस्त’ गर्न सुझाव दिएका छन्।
दुई दिनदेखि जारी सचिवालय बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजनसहित ११ वटा एजेन्डा छलफलमा रहेका छन्। आइतबार बस्ने अन्तिम बैठकपछि निर्णय प्रक्रियाले निष्कर्ष पाउने अपेक्षा गरिएको छ।
पार्टीभित्र बढ्दो असन्तोष र नेतृत्वबारे देखिएको ध्रुवीकरणले एमालेभित्रको शक्ति समीकरण फेरिने संकेत गरेको विश्लेषण गरिएको छ।