दीपेन्द्रसिंह ऐरी युरोपियन टी–२० प्रिमियर लिगका लागि आम्स्टर्डम फ्लेम्समा आबद्ध
नेपालका टी–२० राष्ट्रिय टोलीका कप्तान तथा एकदिवसीय टोलीका उपकप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरी आगामी युरोपियन टी–२० प्रिमियर लिगका लागि नेदरल्यान्ड्सको टोली आम्स्टर्डम फ्लेम्ससँग आबद्ध भएका छन्।
माइकल मार्स कप्तानी गर्ने आम्स्टर्डम फ्लेम्समा ऐरीसँगै क्यानडाका युवराज साम्रा र इटालीका अली हसन पनि टोलीमा समावेश गरिएको छ। पत्रकार बेर्टुस डे जोङले एक्समार्फत यो जानकारी सार्वजनिक गरेका हुन्।
यो लिगमा नेदरल्यान्ड्सका दुई टोली, आयरल्यान्डका दुई टोली र स्कटल्यान्डका दुई टोली गरी कुल ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ। आयोजक तीन देशका क्रिकेट संघहरू रहेको यो प्रतियोगिता झण्डै एक महिनासम्म ६ वटा मैदानमा सञ्चालन हुने तय छ।
ऐरी हालै पाकिस्तान सुपर लिग (PSL) को टोली इस्लामाबाद युनाइटेडसँग आबद्ध भएका थिए, तर उनले त्यहाँ खेल्ने अवसर भने पाएका थिएनन्।
युरोपियन लिगअघि उनले बेल्जियममा आयोजना हुने इयू टी–२० लिग पनि खेल्नेछन्, जहाँ उनी जेबी ब्रुजबाट खेल्नेछन्। सो लिगमा नेपालका नौ खेलाडी सहभागी हुने भएका छन्।