केरा किसान मारमा: उत्पादन बढे पनि उचित मूल्य नपाउँदा निराशा
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का व्यावसायिक केरा किसानहरूले उत्पादनअनुसार उचित मूल्य नपाएको भन्दै गुनासो गरेका छन्। बजारमा उपभोक्ताले महँगो मूल्य तिरेर केरा किन्नुपर्ने अवस्था भए पनि किसान भने न्यून मूल्यमा बिक्री गर्न बाध्य रहेको बताएका छन्।
मध्यविन्दु नगरपालिका–६ बरुवाका किसान दुर्गाप्रसाद भुर्तेलले लागत, मेहनत र जोखिमअनुसार मूल्य नपाउँदा व्यवसाय नै छोड्नुपर्ने अवस्था आएको बताए। विगत ३० वर्षदेखि केराखेती गर्दै आएका उनले पछिल्ला नौ वर्षयता व्यावसायिक रूपमा खेती गरिरहेका छन्। “अहिले केरा बेच्दा प्रतिकोसा पाँच–छ रुपैयाँ मात्रै पाइरहेका छौँ। यस्तो मूल्यले टिक्नै गाह्रो छ,” उनले भने। रोग–किरा, हावाहुरी र असिनापानीका कारण उत्पादनमा असर परिरहँदा लागत झन् बढेको उनको भनाइ छ।
यस्तै, कावासोती नगरपालिका–१३ की फुलकुमारी महतोले चार बिघा जमिनमा केराखेती गरे पनि अपेक्षित आम्दानी नभएको बताइन्। “लाखौँ लगानी गरेका छौँ तर सस्तोमा बेच्नुपरेको छ। बजारमा भने उपभोक्ताले महँगो तिर्छन्, बीचमा कसले फाइदा लिएको छ बुझ्नै गाह्रो छ,” उनले भनिन्।
कावासोती कृषिउपज थोक बजार व्यवस्थापन समितिका अनुसार हाल केराको थोक मूल्य प्रतिदर्जन १३२ रुपैयाँ र खुद्रा मूल्य करिब १५० रुपैयाँसम्म पुगेको छ। तर किसानले भने यही केरा प्रतिदर्जन ६० देखि ७२ रुपैयाँमै बिक्री गर्नुपर्ने बाध्यता छ। किसान र उपभोक्ताबीचको यो ठूलो मूल्य अन्तरले बजार प्रणालीमाथि प्रश्न उठाएको छ।
किसानहरूले बिचौलिया नियन्त्रण, उचित समर्थन मूल्य निर्धारण तथा प्रत्यक्ष बजार पहुँच सुनिश्चित गर्न माग गरेका छन्। समयमै प्रभावकारी नीति नआए केराखेतीप्रति किसानको आकर्षण घट्ने जोखिम रहेको उनीहरूको चेतावनी छ।
कृषि विकास कार्यालयका सूचना अधिकारी सञ्जय ढकालका अनुसार जिल्लामा हाल ५५१ हेक्टर क्षेत्रफलमा केराखेती भइरहेको छ। उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा असन्तुलन रहेको उनले बताए।