वरिष्ठ पत्रकार तथा कवि सुरेश किरण मानन्धरको निधन
काठमाडौं — भाषा आयोगका सदस्य, वरिष्ठ पत्रकार तथा कवि सुरेश किरण मानन्धरको निधन भएको छ। नेपाल भाषा आन्दोलनका एक सक्रिय अभियन्ता मानन्धरको सोमबार काठमाडौंमा ५९ वर्षको उमेरमा निधन भएको हो।
वि.सं. २०२३ सालमा जन्मिएका मानन्धर नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सल्लाहकार समेत रहेका थिए। उनी पत्रकारिता र साहित्य क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए। विशेषगरी नेपालभाषा (नेवारी) र नेवाः संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि उनले महत्वपूर्ण योगदान दिएका थिए।
मानन्धर चर्चित साप्ताहिक पत्रिका जनआस्थामा व्यंग्य लेखनका लागि पनि परिचित थिए। उनका व्यंग्य लेखहरू पाठकमाझ निकै लोकप्रिय मानिन्थे।
उनको निधनप्रति विभिन्न क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गरेका छन्। कलाकार मनोज गजुरेलले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै सुरेश किरणसँग आफूले धेरै कुरा सिकेको तर त्यसको “गुण तिर्न नपाएको” बताएका छन्।
स्व. मानन्धरको पार्थिव शरीर बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि नेपालभाषा मंका खलःको प्राङ्गणमा राखिने भएको छ। त्यसपछि उनको अन्त्येष्टि काठमाडौंको लुँतिघाट (खुसिबुँ)मा गरिने बताइएको छ।