रास्वपाको शक्तिशाली दुईतिहाइको सरकारमा फेरि प्रचण्ड निर्णायक !
प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व जनमत प्राप्त गर्दै २०४८ सालयताकै चुनावी परिणामलाई उल्टाएको छ। लामो समयदेखि सत्ता र शक्तिमा प्रभाव जमाउँदै आएका नेपाली कांग्रेस, एमाले र नेकपासहितका परम्परागत दल यसपटक नराम्ररी कमजोर बनेका छन्।
२०४८ र २०५६ सालमा नेपाली कांग्रेसले बहुमत ल्याएको थियो। त्यसयता भने कुनै दलले स्पष्ट बहुमत पाउन सकेको थिएन। तर यसपटक रास्वपाले झण्डै दुईतिहाइ नजिक सिट प्राप्त गर्ने स्थिति बनाएको छ। प्रारम्भिक परिणामअनुसार कांग्रेस करिब ३५ सिट, एमाले २५ सिट र नेकपा करिब १७–१८ सिटमा सीमित हुने देखिएको छ।
यससँगै विगत तीन दशकदेखि आलोपाला सत्ता र शक्तिको राजनीति गर्दै आएका पुराना दलहरू रक्षात्मक अवस्थामा पुगेका छन्। २०६४ सालमा पहिलो दल बनेयता तेस्रो शक्तिका रूपमा सरकार गठनमा प्रभाव जमाउँदै आएको नेकपा (माओवादी केन्द्र) यसपटक अझ कमजोर देखिएको छ।
रास्वपाले झण्डै दुईतिहाइ मत ल्याएको अवस्थामा सरकार गठनमा ठूलो समस्या नदेखिए पनि राष्ट्रियसभा र संवैधानिक परिषद्को गणित भने फरक भएकाले चुनौती बाँकी नै छ। प्रतिनिधिसभामा बलियो भए पनि राष्ट्रियसभामा रास्वपाको उपस्थिति नरहेको हुँदा नीति निर्माण र संवैधानिक नियुक्तिका प्रक्रियामा अन्य दलसँग सहकार्य आवश्यक पर्ने देखिएको छ।
राष्ट्रियसभामा नेपाली कांग्रेस २५ सदस्यसहित पहिलो दल बनेको छ भने नेकपा १८ सदस्यसहित दोस्रो स्थानमा छ। एमाले ११ सिटसहित तेस्रो दल बनेको छ। यस्तै राष्ट्रपति रामचन्द्र पौडेल कांग्रेसबाट निर्वाचित भएकाले संवैधानिक प्रक्रियामा रास्वपाले राजनीतिक सन्तुलन कायम गर्नुपर्ने अवस्था छ।
यही कारणले रास्वपाले प्रतिनिधिसभामा कमजोर भए पनि नेकपासँग सहकार्यको सम्भावना खुला राखेको संकेत देखिएको छ। यसअघि पनि प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका थिए। सुशासनका एजेन्डामा दुवै दलबीच सहकार्य भएको अनुभव पनि छ।
पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि नयाँ शक्तिलाई बधाई दिँदै विनम्रता कायम राख्न सुझाव दिएका छन्। पूर्वी रुकुमबाट विजयी भएपछि उनले ठूलो जीतले अहंकार जन्माए देशका लागि दुर्भाग्यपूर्ण हुन सक्ने चेतावनी दिएका थिए।
“नयाँ पार्टीले ठूलो विजय हासिल गरेको छ। म उहाँहरूलाई बधाई दिन चाहन्छु। तर यदि यही विजयले अहंकार जन्मायो भने त्यो देशका लागि दुर्भाग्यपूर्ण हुन सक्छ,” प्रचण्डले भने।
साथै उनले थोरै सिट ल्यायो भनेर आफूलाई नहेप्न चेतावनीसमेत दिएका थिए। “हामीलाई थोरै सिट ल्यायो भनेर प्रचण्डलाई हेप्ने दुस्साहस नगरुन्। जंगलमा सिंह हिँडिसकेपछि अरुको के हालत हुन्छ, हामी सबैलाई थाहा छ,” उनले भने।
संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ। यस्तो अवस्थामा परिषद्मा बहुमत जुटाउन रास्वपाले अन्य दलसँग सहकार्य गर्नुपर्ने देखिन्छ।
संविधानको धारा ९१ अनुसार प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक–फरक दलबाट हुनुपर्ने व्यवस्था छ। त्यसैले सभामुख रास्वपाबाट भए उपसभामुख अर्को दललाई दिनुपर्ने हुन्छ। यस्तो अवस्थामा नेकपालाई उपसभामुख दिने विकल्पबारे पनि छलफल हुन सक्ने संकेत देखिएको छ।
रास्वपाका एक नेताका अनुसार नीति निर्माण र शासन सञ्चालनलाई सहज बनाउन आवश्यक परे पुराना दलसँग पनि सहकार्य गर्न सकिनेछ।
उता रोल्पाबाट विजयी भएपछि नेकपा नेता वर्षमान पुनले पनि रास्वपासँग सहकार्य गर्न सकिने बताएका छन्। “राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जितेको छ। म उहाँहरूलाई बधाई दिन चाहन्छु। मुलुकको हित, सुशासन, आर्थिक वृद्धि र सामाजिक न्यायका विषयमा हामी सहकार्य गर्न तयार छौँ,” उनले भने।
नयाँ शक्तिको रूपमा उदाएको रास्वपाले ऐतिहासिक विजय हात पारे पनि सरकार सञ्चालन र संवैधानिक प्रक्रियामा भने अझै जटिल राजनीतिक समीकरण सामना गर्नुपर्ने देखिएको छ।