इजरायलले इरानी सुरक्षा प्रमुख अली लारिजानीको मृत्यु दाबी
इजरायलले इरानमा भएको कारवाहीमा सुरक्षा प्रमुख अली लारिजानी मारिएको दाबी गरेको छ। इजरायली रक्षामन्त्री इजरायल कट्जले यसबारे पुष्टि गरेका हुन्। तर इरानी पक्षले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
सन् १९५८ मा इराकको नजफमा जन्मेका लारिजानी इरानको राजनीतिमा सन्तुलित र व्यावहारिक नेताका रूपमा परिचित थिए। उनी इरानको शक्तिशाली परिवारका सदस्य पनि थिए।
गणित र कम्प्युटर विज्ञानमा स्नातक गरेपछि दर्शनशास्त्रमा विद्यावारिधि गरेका लारिजानी १९७९ पछि इरानी रिभल्युसनरी गार्ड (आईआरजीसी) मा आबद्ध भएका थिए। उनले संस्कृतिमन्त्री, सरकारी सञ्चारमाध्यम प्रमुख, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् सचिव र मुख्य परमाणु वार्ताकारको भूमिकामा काम गरेका थिए।
उनले लगातार तीन कार्यकालसम्म इरानको संसदको सभामुखको रूपमा सेवा गरेका थिए र सन् २०१५ को परमाणु सम्झौताको कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।