प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना परिचालित
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले आजदेखि नेपाली सेना परिचालित भएको छ।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा लागू हुने एकीकृत सुरक्षा योजना–२०८२ अनुसार नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालन गरिएको हो। योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा खटिएका छन्। निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी (निर्वाचन प्रहरी) समेत परिचालन गरिनेछ।
सुरक्षा योजनाअन्तर्गत मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी खटिने छन् भने दोस्रो तहको सुरक्षामा सशस्त्र प्रहरी बल रहनेछ। बाहिरी सुरक्षा घेराको जिम्मेवारी नेपाली सेनाले सम्हाल्नेछ।
गत मंसिर ११ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका थिए।
निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन आवश्यकताअनुसार सेनाका ‘वेस’ स्थापना गरिने र संयुक्त गस्तीसमेत सञ्चालन गरिने नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।
नेपाली सेनाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने जनाएको छ।