बाँकेका तीन निर्वाचन क्षेत्रमा आचारसंहिता उल्लङ्घनका १६ घटना दर्ता
बाँके । निर्वाचनको मिति नजिकिँदै जाँदा बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ वटा घटना दर्ता भएका छन्। ती सबै घटना गत साताभित्रका भएको निर्वाचन आचारसंहिता कार्यान्वयन तथा अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिए।
आचारसंहिता उल्लङ्घनका घटनामा संलग्न उम्मेदवार तथा सम्बन्धित पक्षलाई सचेत गराउँदै त्यस्ता गतिविधि पुनः नदोहोर्याउन निर्देशन दिइएको खत्रीले बताए।
उनका अनुसार निर्वाचन क्षेत्र नं १ मा विद्यालय परिसरमा कार्यक्रम आयोजना गरिएको उजुरी परेको छ भने निर्वाचन क्षेत्र नं २ मा विभिन्न स्थानमा ग्राभेल गरिएको, भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरिएको, मतदातालाई ‘लकेट’ वितरण गरिएको तथा झण्डासहित नारा लगाउँदै प्रचार गरिएकोलगायत उजुरी दर्ता भएका छन्।
यसैगरी, सामाजिक सञ्जालमार्फत उम्मेदवारविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिइएको, उम्मेदवारले वृद्धाश्रममा भोजन गराएको, पालिकाका अध्यक्ष स्वयंले प्रचारप्रसार गरेको, गैरसरकारी संस्थामा आबद्ध पदाधिकारीले सामाजिक सञ्जालमार्फत पार्टी प्रचार गरेको तथा सवारीसाधनमा झण्डा प्रयोग गरिएको जस्ता घटनासमेत दर्ता भएका छन्।
अनुगमन अधिकृत खत्रीका अनुसार कतिपय स्थानमा उम्मेदवारहरूले स्वयं आचारसंहिता उल्लङ्घन भएको स्वीकार गरेका छन्। यस्ता घटना जानकारीमा आउनेबित्तिकै अनुगमन गरी आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए।
पछिल्ला केही दिनयता आचारसंहिता उल्लङ्घनका घटनामा कमी आउन थालेको उल्लेख गर्दै खत्रीले केही घटनामा निर्वाचन आयोगले स्पष्टीकरणसमेत सोधिसकेको जानकारी दिए। केही उम्मेदवारसँग मौखिक स्पष्टीकरण लिएर तत्काल त्यस्ता गतिविधि नदोहोर्याउन निर्देशन दिइएको पनि उनले बताए।