बलात्कार आरोप लागेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्ना भारतबाट पक्राउ
काठमाडौं, २४ माघ । बलात्कार आरोप लागेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्ना पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भारतको बैंग्लोरबाट पक्राउ गरेको हो।
पक्राउ परेका ठगुन्नालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय वीरेनद्रनगर, सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।
ठगुन्नाविरुद्ध जाजरकोटकी एक युवतीले बलात्कार आरोपमा जाहेरी दिएकी थिइन्। पीडित युवती गत २५ मंसिरदेखि काठमाडौंको माइतीघर मण्डलमा ठगुन्नामाथि कारबाहीको माग गर्दै अनशनमा बसिरहेकी थिइन्।
दार्चुलाको नौगाड गाउँपालिका–२, सुन्डमुन्ड स्थायी घर भई काठमाडौंको रामशाहपथमा बस्दै आएका ठगुन्नाविरुद्ध जिल्ला अदालत सुर्खेतबाट पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेकामा भारतको बैंग्लोरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पीडितले २५ मंसिर २०८० मा ठगुन्नाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन्। त्यसबेला प्रहरी सेवामा रहेका ठगुन्ना निलम्बनमा परेका थिए र जिल्ला अदालतले उनलाई २ लाख ५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो।
पछिल्लो पटक गत जेठमा पुनः जबरजस्ती करणी भएको भन्दै पीडितले ७ असोजमा जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले १० असोजमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो। मुद्दा दर्ता हुँदासम्म पीडित करिब तीन महिनाको गर्भवती भइसकेकी थिइन्।
यसैबीच, सर्वोच्च अदालतबाट ताप्लेजुङ सरुवा भएका ठगुन्ना २१ साउनदेखि कार्यालयमा हाजिर नभएपछि कोशी प्रदेश प्रहरी कार्यालयले १४ कात्तिकमा उनलाई प्रहरी सेवाबाट हटाएको थियो।
प्रहरीका अनुसार हाजिर नभएकै कारण ठगुन्नालाई सेवाबाट हटाइएको हो।