समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक
२० माघ, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक भएको छ। निर्वाचन आयोगले राजनीतिक दलहरूले बुझाएको विवरणमाथि अध्ययन र छानबिन पूरा गरी अन्तिम नामावली प्रकाशन गरेको हो।
२७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना निर्वाचित हुने व्यवस्था छ।
दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची गत पुस १३ र १४ गते आयोगमा बुझाएका थिए। प्राप्त विवरणमाथि आवश्यक जाँचबुझपछि आयोगले अन्तिम बन्दसूची सार्वजनिक गरेको हो।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ६३ राजनीतिक दलबाट पेस भएका विवरणमध्ये ५७ निर्वाचन चिन्हमा समानुपातिक उम्मेदवार रहेका छन्। सबै दलका गरेर समानुपातिकतर्फ कुल उम्मेदवार संख्या ३ हजार १३५ पुगेको छ।
प्रकाशित अन्तिम बन्दसूचीअनुसार एक हजार ७७२ महिला र एक हजार ३६३ पुरुष उम्मेदवार रहेका छन्।