महाशिवरात्रिको तयारीस्वरूप पशुपति क्षेत्रमा व्यापक सफाइ
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रिको तयारीस्वरूप विशेष सफाइ गरिएको छ। वाग्मती सफाइ महाअभियानको ६६५औँ हप्ताको अवसरमा पशुपति क्षेत्रको सूर्यघाट, आर्यघाट र राममन्दिर क्षेत्र सरसफाइ गरिएको हो।
सफाइ अभियानबाट करिब चार मेट्रिक टन फोहर संकलन गरिएको सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। उनका अनुसार संकलित नकुहिने फोहर काठमाडौँ महानगरपालिकाका गाडीमार्फत व्यवस्थापन गरिएको छ।
भष्मेश्वरघाटदेखि ड्यामसम्मको वाग्मती किनारमा अत्यधिक फोहर देखिएकाले उक्त क्षेत्र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले डोजर प्रयोग गरी सफाइ गर्ने सहमति भएको छ।
आजको सफाइ कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख मचाकाजी महर्जनसहित विभिन्न अभियानकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। आगामी हप्ता शनिबार नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहभागितामा पनि पशुपति क्षेत्रमै सफाइ गरिने जनाइएको छ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार निरन्तर सञ्चालन हुँदै आएको छ। भूकम्प, नाकाबन्दी र कोरोनाजस्ता प्रतिकूल परिस्थितिमा समेत अभियान नरोकिनु यसको निरन्तरताको उदाहरण भएको अभियानकर्मीहरूले बताएका छन्।
‘देशका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित अभियानकर्मीहरू हरेक शनिबार बिहान वाग्मती नदी किनारमा भेला भई सफाइ गर्दै आएका छन्।