विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले बढ्यो, ३२ खर्ब रुपैयाँ नाघ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनाको तथ्यांकअनुसार मुलुकको विदेशी विनिमय सञ्चितिमा उल्लेख्य सुधार देखिएको छ। समीक्षा अवधिमा कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भई ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा मापन गर्दा २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेको विदेशी विनिमय सञ्चिति पुस मसान्तसम्म १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको विदेशी विनिमय सञ्चिति १९.४ प्रतिशतले वृद्धि भई २८ खर्ब ८४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको विदेशी विनिमय सञ्चितिमा ३६.२ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको छ। २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति पुस मसान्तसम्म ३ खर्ब ५८ अर्ब ३७ करोड रुपैयाँ कायम भएको छ।
पुस मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ।
राष्ट्र बैंकका अनुसार हालको विदेशी विनिमय सञ्चिति नेपालको आर्थिक इतिहासमै बलियो अवस्थामा पुगेको छ। २०८२/८३ को पहिलो ६ महिनाको आयातलाई आधार मान्दा हालको सञ्चितिले २१.४ महिनाको वस्तु आयात तथा १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ।
त्यसैगरी, पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादनसँगको अनुपात ५३.१ प्रतिशत, कुल आयातसँग १५०.७ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग ४०.५ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।