सुशीला कार्की ताप्लेजुङमा, निर्वाचन तयारीबारे जानकारी लिइन्
ताप्लेजुङ — प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी, शान्तिसुरक्षाको अवस्था तथा जिल्लाका समग्र गतिविधिबारे जानकारी लिन आज ताप्लेजुङ आइपुगेकी छन्।
आज बिहानै उनले पाथीभरा देवी मन्दिरमा पूजाअर्चना गरेकी हुन्। पूजापछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत ‘फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु’ भनी लेखेकी छन्।
प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुख, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरूसँग भेटघाट गरी निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।