दाङमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु
दाङ । दाङको घोराही उपमहानगरपालिका–१६ सेवाखोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज बिहान घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु प्र ०२–००१ प ११०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सेवाखोलामा निर्माणाधीन पुलबाट खसेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक रोल्पा त्रिवेणी गाउँपालिका–७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र पछाडि सवार तुलसीपुर उपमहानगरपालिका–१७ झिँगैका ३९ वर्षीय कमल वली गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।