सीमा सुरक्षा बैठकका क्रममा ढलेका सशस्त्र प्रहरीका एसपी राजेश घिमिरेको निधन
विराटनगर, २३ माघ । नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ।
मोरङको विराटचोकमा शुक्रबार नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारी सहभागी डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला एसपी घिमिरे बेहोस भएर ढलेका थिए।
उपचारका लागि विराट मेडिकल कलेज पुर्याइएका घिमिरेको राति ८ बजेर ५२ मिनेटमा उपचारकै क्रममा निधन भएको सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेले पुष्टि गरेका छन्।
चिकित्सकका अनुसार घिमिरेलाई उच्च रक्तचाप देखिएको थियो। बैठकका क्रममा ढलेका बेला जिब्रो काटिएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।