काभ्रेपलाञ्चोकमा प्राकृतिक विपत्तिले १२०० रोपनी कृषि बाली नष्ट, राहतको माग
काभ्रेपलाञ्चोक, २२ माघ – जिल्लामा प्राकृतिक विपत्तिका कारण करिब १,२०० रोपनी जमिनमा लगाइएको खाद्यान्न, तरकारी र फलफुल बाली नष्ट भएको छ।
जिल्ला कृषि विकास कार्यालयले गत वर्ष र यस वर्षका विपत्तिमा १५१ किसान प्रभावित भएको भन्दै प्रदेश सरकारलाई राहत उपलब्ध गराउन सिफारिस गरेको छ। कार्यालयका अनुसार खाद्यान्न बाली क्षतिका लागि रु १४ लाख ४१ हजार, तरकारी बालीका लागि रु ७ लाख ८० हजार, फलफुलका बिरुवा र बाँसका टनेलका लागि छुट्टाछुट्टै राहत रकम प्रस्ताव गरिएको छ।
प्रदेश सरकारले प्रति रोपनी खाद्यान्नमा रु १५००, तरकारी बालीमा रु २५००, फलफुल बिरुवा र बाँस टनेलमा रु ५० प्रतिवोट र प्रति वर्गमिटर राहत दिने प्रावधान रहेको छ।
कार्यालय प्रमुख कुलप्रसाद दवाडीले भने, “स्थानीय तहको सिफारिस, प्राविधिक प्रतिवेदन र जिल्लास्तरीय मूल्याङ्कनपछि मात्र राहत वितरण हुनेछ।”
गत वर्षको बाढीपहिरोमा क्षति पुगेका किसानका लागि रु ७८ लाख सिफारिस गरिएकोमा रु ५३ लाख सम्बन्धित पीडित किसानलाई वितरण गरिएको थियो।