मधेश प्रदेशसभाको आठौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदै
मधेश प्रदेशसभाको आठौँ वार्षिकोत्सव आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ। दिवसको अवसरमा प्रदेशसभा सचिवालयले रक्तदान, सरसफाइजस्ता विविध कार्यक्रम सञ्चालन गरिरहेको छ।
२०७४ साल माघ २१ गते पहिलो पटक प्रदेशसभाको बैठक बसेको दिनको सम्झनामा प्रत्येक वर्ष माघ २१ गतेलाई प्रदेशसभा वार्षिकोत्सवका रूपमा मनाइँदै आएको छ।
प्रदेशसभा सचिवालयका अनुसार आठ वर्षको अवधिमा मधेश प्रदेशसभाका कूल ३६५ बैठक सम्पन्न भएका छन्। पहिलो कार्यकालका पाँच वर्षमा नवौँ अधिवेशनमार्फत २२६ बैठक बसेका थिए भने दोस्रो कार्यकालमा हालसम्म १३९ बैठक सम्पन्न भइसकेका छन्।
विधायनतर्फ हेर्दा पहिलो कार्यकालमा ५५ वटा विधेयक पारित भई ऐन बनेका थिए। दोस्रो कार्यकालमा संशोधनसहित २२ विधेयक दर्ता हुँदा १५ वटा पारित भएका छन्। यसरी आठ वर्षको अवधिमा मधेश प्रदेशसभाबाट कूल ७० विधेयक पारित भएका छन्।
प्रदेशसभा सचिवालयले वार्षिकोत्सवले प्रदेशसभाको भूमिका, उपलब्धि र जिम्मेवारीबारे जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।