जंगली रातो बाँदर पुनः कृषि हानिकारक वन्यजन्तु घोषणा
काठमाडौं, २९ माघ — सरकारले जंगली रातो बाँदरलाई पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ। वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त घोषणा गरेको हो। सूचना प्रकाशन भएको मितिबाट एक वर्षसम्म यो व्यवस्था लागू रहनेछ।
यस निर्णयसँगै जंगली रातो बाँदरले निजी खेत, खला वा बारीमा क्षति पुर्याएमा सम्बन्धित जग्गाधनीले तोकिएका सर्तहरूका आधारमा विनाअनुमति धपाउन, लखेट्न वा पक्रन सक्नेछन्। धपाउने क्रममा बाँदरको मृत्यु भएमा कारबाही नहुने व्यवस्था गरिएको छ।
तर राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र वा राष्ट्रिय वन क्षेत्रभित्र भने बाँदर धपाउन, लखेट्न वा पक्रन पाइने छैन।
मन्त्रालयका अनुसार जंगली रातो बाँदरले बालीनाली वा जनधनमा क्षति पुर्याएमा किसानले एक्लै वा सामूहिक रूपमा बाँदर धपाउन, लखेट्न वा पक्रन सक्नेछन्।
पक्रिएको बाँदरलाई सम्बन्धित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा नजिकको मातहत कार्यालयमा बुझाउनुपर्नेछ।
धपाउने क्रममा बाँदर मरेमा स्थानीय वडाका कम्तीमा एक जना प्रतिनिधिसहित पाँच जना स्थानीयको रोहबरमा गाड्न पाइनेछ। साथै, यसको जानकारी सम्बन्धित निकुञ्ज वा वन कार्यालय तथा स्थानीय तहको वडामा गराउनुपर्नेछ।
रातो बाँदर मारिएको विवरण सम्बन्धित कार्यालयहरूले प्रत्येक दुई–दुई महिनामा मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
यसअघि सरकारले गत वर्ष माघ महिनामा पहिलो पटक जंगली रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो। हाल बालीनालीमा जंगली बँदेल र बाँदरको बढ्दो आक्रमणले किसानहरूलाई ठूलो समस्या बनाइरहेको छ।