आईसीसी टी–२० पुरुष विश्वकप आजदेखि सुरु, पाकिस्तान–नेदरल्यान्ड्सबीच उद्घाटन खेल
काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको १०औँ संस्करण आजदेखि सुरु भएको छ। विश्वकपका खेलहरू भारत र श्रीलङ्कामा आयोजना भइरहेका छन्।
प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ। श्रीलङ्काको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा भइरहेको खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेदरल्यान्ड्सले पहिले ब्याटिङ सुरु गरेको छ।
आजै अन्य दुई खेल पनि हुँदैछन्। भारतको कोलकातास्थित इडेन गार्डेनमा सवा ३ बजे वेस्ट इन्डिज र स्कटल्याण्डबीच खेल हुनेछ भने सवा ७ बजे मुम्बईको वानखेडे रंगशालामा आयोजक भारत र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ।
टी–२० विश्वकपमा २० वटा टोली सहभागी छन्। टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स रहेका छन्। समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छन्।
समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन् भने समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई) र क्यानडा समावेश छन्।
विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।