भरतपुरमा मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१६ का २८ वर्षीय कुलबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो।
शुक्रबार साँझ ना६ख ६३१६ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना३१प २११४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए। घाइते मगरलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।