धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार, निलम्बित महानिर्देशक अधिकारी थुनामै रहने
२३ माघ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले अधिकारीलाई धरौटीमा छाड्न नमिल्ने ठहर गर्दै विशेष अदालतको आदेश सदर गरेको हो ।
यसअघि विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश जारी गरेको थियो । सो आदेशविरुद्ध अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
रिटको सुनुवाइपछि सर्वोच्च अदालतले विशेष अदालतको आदेशलाई यथावत् राख्दै अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी प्रकरणमा अधिकारीविरुद्ध मुद्दा दायर गरेको थियो । सोही मुद्दामा उनलाई यसअघि नै थुनामा पठाउने आदेश भइसकेको छ ।