नेपाल–जापान सम्बन्ध अझ सुदृढ बनाउन मिलेर काम गर्न चाहन्छौँ: राष्ट्रपति पौडेल
२० माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध झनै निकट र गहिरो मित्रताका साथ अघि बढिरहेको बताएका छन्।
जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलसँग आज जापानकी प्रधानमन्त्री तकाइची सनायले गरेको शिष्टाचार भेटका क्रममा उनले द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न नेपाल इच्छुक रहेको स्पष्ट पारेका हुन्।
भेटका क्रममा राष्ट्रपति पौडेलले जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहकार्यलाई अझ मजबुत बनाउने बताए। उनका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवलाई दुई देशबीचको सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा भएको उनले उल्लेख गरे।
राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान प्रमुख विकास साझेदार रहेको भन्दै द्विपक्षीय व्यापार विस्तार र नेपालको विकास प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने पर्याप्त सम्भावना रहेको बताए। नेपालले विदेशी लगानी आकर्षित गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेको पनि उनले जानकारी दिए।
मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण र सांस्कृतिक जगेर्नामा जापानको सहयोगले महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै उनले नेपाल अतिकम विकसित राष्ट्रको श्रेणीबाट स्तरोन्नति हुने क्रममा जापानबाट निरन्तर सहयोग र सद्भाव पाइने विश्वास व्यक्त गरे।
विश्व शान्ति र भाइचाराको प्रतीक बुद्धको दर्शनमा विश्वास गर्ने दुवै देशका जनतालाई बुद्ध जन्मभूमि लुम्बिनीले जोड्ने पुलको काम गरेको राष्ट्रपति पौडेलले बताए। उनले जापानमा हुन लागेको आम निर्वाचनको सफलताको शुभकामनासमेत व्यक्त गरे।
सो अवसरमा जापानकी प्रधानमन्त्री तकाइची सनायले नेपालको राजनीतिक स्थायित्व जापान र यस क्षेत्रका लागि महत्वपूर्ण रहेको भन्दै २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सफल होस् भन्ने जापानको कामना रहेको बताइन्। साथै, उनले निर्वाचनमा जापानले पर्यवेक्षक पठाउने जानकारी पनि दिइन्।
प्रधानमन्त्री सनायले नेपाल र जापान दीर्घकालीन घनिष्ठ मित्र रहेको उल्लेख गर्दै जापानमा अध्ययनरत नेपाली विद्यार्थी, जापानी नागरिकको नेपालका हिमालप्रतिको आकर्षणलगायत कारणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुँदै गएको बताइन्। उनले सूचना प्रविधि र लोकतान्त्रिक अभ्यासमा जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सोमबार जापान पुगेको हो। भ्रमणका क्रममा उनले जापानी व्यापारिक समुदायलाई सम्बोधन गरेका छन् भने जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओसँग पनि शिष्टाचार भेट गरेका थिए।
राष्ट्रपति पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा विशेष सम्बोधन गर्नुका साथै जापानस्थित नेपाली राजदूतावासको अवलोकन गरेका छन्। आजै उनले जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गरेका छन्।
चारदिने औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्कने कार्यक्रम छ।