रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट सर्वोच्चमा पहिलो नम्बरमा सुनुवाइ
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर गरिएको रिट आज सर्वोच्च अदालतमा पहिलो नम्बरमा सुनुवाइका लागि राखिएको छ ।
चौधरीको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
यसअघि गत माघ ११ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो । साथै अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएको थियो ।
माघ १५ गते न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दासँग सम्बन्धित फैसलाको फाइल पूर्वआदेशअनुसार पेस गर्न आदेश दिएको थियो । सो आदेशअनुसारको प्रक्रिया पूरा भई मिसिल प्राप्त भएपछि अन्तरिम आदेशका लागि आज सुनुवाइ तय गरिएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गराएका चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो ।