नवजात, शिशु र बाल मृत्युदर सुदूरपश्चिममा सबैभन्दा बढी
२६ माघ, काठमाडौं । नेपालमा नवजात शिशु, शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी रहेको पाइएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको **चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२** को नतिजा अनुसार प्रादेशिक रूपमा नवजात, शिशु र बाल मृत्युदर सबै सूचकमा सुदूरपश्चिम प्रदेश अग्रस्थानमा रहेको देखिएको हो।
सर्वेक्षणका अनुसार नेपालमा हरेक एक हजार जीवित जन्ममध्ये एक वर्ष नपुग्दै औसत २७ शिशुको मृत्यु हुने गरेको छ। त्यस्तै, प्रतिहजार जीवित जन्ममा पाँच वर्षमुनिका ३१ बालबालिकाको मृत्यु हुने गरेको छ। नवजात शिशु मृत्युदर भने एक हजार जीवित जन्ममा १७ रहेको छ।
प्रदेशगत विवरण अनुसार नवजात शिशु मृत्युदर सुदूरपश्चिम प्रदेशमा प्रतिहजार जीवित जन्ममा २६ रहेको छ, जुन सबैभन्दा बढी हो। सबैभन्दा कम बागमती प्रदेशमा प्रतिहजार १० मात्र रहेको छ। शिशु मृत्युदरसमेत सुदूरपश्चिममा सबैभन्दा बढी प्रतिहजार ३८ रहेको छ भने बागमतीमा सबैभन्दा कम १७ रहेको छ।
पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर पनि सुदूरपश्चिम प्रदेशमा प्रतिहजार ४८ रहेको छ, जुन देशकै उच्च हो। सबैभन्दा कम बाल मृत्युदर गण्डकी प्रदेशमा प्रतिहजार २० रहेको तथ्यांकले देखाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीय तहमा अनुगमन, मूल्यांकन र योजना तर्जुमा गर्न तथा गुणस्तरीय र तुलनायोग्य सूचक उपलब्ध गराउने उद्देश्यले नेपाल बहुसूचक सर्वेक्षण सञ्चालन गरिएको हो।
सर्वेक्षणका लागि देशभरका ५४० गणना क्षेत्र (क्लष्टर) छनोट गरिएका थिए, जसमा शहरी क्षेत्रका ३०४ र ग्रामीण क्षेत्रका २३६ क्लष्टर समावेश छन्। प्रत्येक क्लष्टरबाट २४ परिवार छनोट गरी जम्मा १२ हजार ९६० परिवारबाट तथ्यांक संकलन गरिएको थियो।
दीगो विकास लक्ष्य (एसडीजी) अनुसार विश्वव्यापी रूपमा नवजात शिशु मृत्युदर प्रतिहजार १२ वा सोभन्दा कममा झार्ने र पाँच वर्षमुनिका बाल मृत्युदर प्रतिहजार २५ वा सोभन्दा कममा झार्ने लक्ष्य लिइएको छ।
सर्वेक्षणको नतिजा अनुसार एक महिनाभित्रका नवजात शिशु मृत्युदर शहरी क्षेत्रमा प्रतिहजार १६ र ग्रामीण क्षेत्रमा १९ रहेको छ। एक वर्षमुनिका शिशुको मृत्युदर शहरी क्षेत्रमा २६ र ग्रामीण क्षेत्रमा २७ रहेको छ। पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर भने शहरी क्षेत्रमा ३१ र ग्रामीण क्षेत्रमा ३० रहेको छ।
लैंगिक आधारमा हेर्दा नवजात, शिशु तथा बाल मृत्युदर सबै सूचकमा बालकको मृत्युदर बालिकाभन्दा बढी देखिएको छ। हरेक एक हजार जीवित जन्ममा एक महिनाभित्र १८ बालकको मृत्यु हुने गरेको छ भने बालिकाको मृत्युदर १५ रहेको छ। शिशुको हकमा बालक २७ र बालिका २६ को मृत्यु हुने गरेको छ। पाँच वर्षमुनिका बालबालिकामा बालकको मृत्युदर प्रतिहजार ३१ र बालिकाको ३० रहेको छ।